Search This Blog

May 28, 2014

‘आइ एम पपुलर इन फेसबुक !’


भोलिदेखि काममा जाने भइयो । घरतिरकै डिलकुमार मानन्धरले भनिदिएको ठाँउमा । ललितपुर मगंलबजारकोे एउटा पुरानो घरमा थियो ‘मेरी स्वास्थ्य सेवा केन्द्र‘ । प्रोपाइटर थिए पाटनका पुराना अहेव कृष्ण नकर्मी । अब बासँग पैसा माग्न नपर्ने भयो । म मनमनै खुसि थिए । पैसठ्ठी सालमै सि.एम.ए. को पढाइ सकेर एक वर्ष हल्लिएपछि मात्र प्लस टु भर्ना भएको थिए । त्यहि पनि बाले धादिङको एउटा प्रा. वि. को जागिरको भरमा भाई र मलाई जसोतसो पढाएका थिए । ब्याचलर पढ्न गाह्रो भइरहेको बेलाको जागिर वर्षामा ओत सरी थियो । हुन त बाह्र पढ्दा पढ्दै पनि भक्तपुरको एउटा क्लिनिकमा काम गरेकोे थिए, एक्स–रे गर्न त्यही सिकेको थिए ।

‘कम्प्युटर, टेलिफोन सबै हुन्छ, पैसा चाँहि  छ हजार दिने भए लौ !’, कृष्ण साहुले आफ्ना फाटीएका दाँत देखाएर हास्दै भने ‘तिमी टेक्निकल मान्छे भएर मात्र हो नत्र त पांच भन्दा बढी कहाँ हुन्थ्यो र ?’
‘मानन्धर सरले त आठ हजार हुन्छ भन्नु भा‘को थियो त ?’ मैले जोड गरे ।
‘सात भन्दा त सक्दिन बरुे पछि बढाई दिउला । ’ उनले भने ‘हुन्छ कि हुन्न?’
म के गरु के गरु भए । मनमनै हिसाब गरे कलेजको तीन हजार, कोठाको दुई, खानाको दुई ! लौ चानचुन धान्न सकिएला जस्तो छ । ‘के गर्नु पर्छ त सर मैले ?’
‘केहि गाह्रो छैन, एक्स–रे गर्ने र डा. रविको केस मा हेल्प गर्ने’ उनले मलाई रिसेप्सनको टेबुलतिर डोहो¥याउदै  भने । डा. रवि एक गाइनेकोलोजिष्ट थिए, उनी मेरी स्टोपस्तिर पनि काम गर्थे । ‘यी चाँहि रमिता, हाम्रो रिसेप्सनिष्ट ।’
‘नमस्ते, म हरिहर’,  मैले परिचयसँगै उसले गरेको नमस्ते फर्काए अनि कृष्ण साहुतिर फर्किए ।   ‘कहिले देखि आउ त सर ?’, मैले सोधे ।  
‘भोलि देखि बिहान एघार बजे आउ न ।’,उनले भने । मैले उनलाई नमस्ते गर्दै निस्के ।

म, नविन र अनिल   नेपालगंज  चाट  सेन्टरमा थियो । वानेश्वर चोकको भित्रपट्टिको यो पसल पहिले देखि नै हाम्रो फेबरेट थियो, खाजा सस्तो पाइने हुदाँ । ‘आज त हाम्रो ह्यारी पोटरको पार्टी होला नि, हैन?’ नविनले भन्यो, ‘केटाले जागिर पा’को छ यार ! कङग्य्राच । ’ ‘के खान्छस् त चाट कि खिर ?’ मैले सोधे । ‘पार्टी दिने भए बाजेको सेकुवामा जाम न त !’  अनिल प्याच्च बोल्यो । ‘आज पैसै छैन यार !  स्यालरी आए‘सि बोडे को छ्यांग खान जाउला नि ।’ म पन्छिन खोजे ।
‘उफ् ! स्यालरी बुझेसी तैले हाम्लाई भाउ दिन्छस् ? तेरो छम्मासँग कता टाप हान्ने होलास् ?’ अनिलले थप्यो । ‘नभन्दै के छ हो हाम्रो हुनेवाला भाउजुको खबर ?’ नविनले सुरु गर्याे ! ‘पख न यार प्रपोज गर्नुपर्छ, बिस्तारै’,  मैले भने ‘अलि पछि भन्छु । ’ ‘कैले पछि ?’, नविनले भन्यो  ‘कि त्यसको बिहे भएर बच्चा जन्मेसी होलसेल नै हान्ने विचार छ ?’ हा हा हा । ‘साउनी चारवटा चाट बनाई दिनु न ।’,मैले खाजाको अर्डर दिए ।

चाटको मसला उसको अगाडि फिक्का थियो । कलेजमा भर्ना भएको दुई महिना भए पनि क्लास भने नियमित गएको थिइन । तर उसलाई देखेपछि उसलाई हेर्न मात्र भएपनि जान लागेको थिए । मान्छे औषत नै भए पनि मलाई उ औधी राम्री लाग्थ्यो । भनिन्छ नि ‘लभ इज ब्लाइन्ड’, हो त्यस्तै । उ बि.बि.ए पढ्थी म वि.ए.। उसको र मेरो बे्रक टाइम फरक पथ्र्यो त्यसैले त म हरेक दिन एउटा पिरियड क्यान्टिनमा सेल्फ स्टडी गर्थे, लाइफ एण्ड फिलिगंसको ! मेरा स्टुडेन्ट हुन्थे रमेश, नविन र अनिल । ‘कुमुद शर्मा‘, उसको नाम कलेज डेमा डान्सको लागि बोलाउदा मात्र थाहा पाएको थिए । त्यो रात त कस्तो कस्तो भै‘रह्यो । खाली एउटै आवाज मनमा गुन्जिरह्यो कुमुद.....  कुमुद.......। राती उ र म सगँै नाँचेको सपना देखँे । चार बजे ब्यूझिएपछि नोकिया क्लासिकको ओपेरामा फेसबुक खोलेर सर्च गरे । कुमुद शर्मा, लिभ इन काठमाडौं, स्टडी बि.बि.ए , देखेपछि दिल खुश हुँवा । फलानाको साथी भनेर चिनाउछु भनि टु म्युचुअल फ्रेन्डसमा क्लिक गरे । ज्या ! माल्भिका सुब्बा र सुरज सिहं ठकुरी पो रहेछन् । जेसुकै होस् भनेर एड फ्रेन्ड गरे । त्यसपछि त छिन् छिन्मा मोबाइल हेर्न थाले । तर केही नयाँ भएन,  खाली क्यान्टिन कुरेको कु¥यै । नविनले रमाइलो गथ्र्याे ‘तैले गर्दा म पनि बिग्रे ! भोलिपर्सि मेरो छोरोले तेरो छोरोलाई बिगार्छ बुझिस् ? पालाको पैँचो !’
एक हप्तापछि फेसबुकमा नोटिफिकेसन देँखे ‘कुमुद शर्मा एसेप्टेड योर फ्रेन्ड रिक्वेस्ट, राइट अन हर वाल’, खुशी चुलियो । दिउसो अनिलले पत्याएन र मोबाइल नै तानेर हे¥यो र भन्यो,‘आज त बोडेको छ्याङ्ग पार्टी हैन त ?’
छ्याङ्गको नशा त भोलि नै उत्र्यो तर अर्को नशा सुरु भएको थियो । दुई÷दुई मिनेटमा कुमुदको प्रोफाइल हेर्ने ! उ कहिले के कहिले के पोष्ट गर्थी म जेमा पनि लाइक गर्दिन्थे ।  ‘ओई मिष्टर रोमियो ?‘ अनिलले भन्यो,‘कुन दुनिँयामा हराइस्यो हजुर ?खाँजा खान्नस् ?’ म मुस्कुराए ।

अब म उसँग च्याटमा कुरा गर्न थालेको थिए ।  म हेलोबाट गफ सुरु गर्थे र खाना, पढाइ इत्यादि साधारण कुरा सोध्थे । उ एस÷नो मा उत्तर दिन्थी । अनि सधै एकै तरिकाले सोध्थी ‘एण्ड योर्स ?‘ म मेरो पुरै रामकहानि टाइप गरेर सेन्ड गर्थे । उसको पुरानो घर हेटौडा भएको र हाल कोटेश्वर बस्ने कुरो पत्तो पाएको थिए । करिब एक महिना पछि कुमुदलाई भेट्न बोलाउछु अनि मनको कुरा भन्छु भनि सोचे । तर भेट्न जाँदा के लगाउने ? कलेज ड्रेस त अति हुन्छ यार ! ‘भएन एउटा गतिलो कपडा त किन्नै प¥यो’, आँट गरे । बेलुका वानेश्वर प्लाजामा गएर टि–सर्ट छान्न थाले, कुमुदलाई भेट्न पनि के फुटपाथको लाएर जानु ? हल्का हरियो रङ्गको टि–सर्टको अगाडिपट्टि निलो रङ्गले लेखिएको थियो ‘आइ एम पपुलर इन फेसबुक ! ‘ओहो कुमुदसँग पहिलो पटक बोलेकै पनि फेसबुकमै त हो नि ।’ मलाई जानेर नै टि–सर्ट बनाए झै लाग्यो । ‘दाइ कति ?’
‘सात सय पचास ।’
‘नो बार्गेनिङ फर लभ डुड !’, म पैसा तिरेर हिडे ।
पर्सिपल्ट बडो आँटका साथ क्यान्टिनबाट फर्किदै गर्दा उसलाई बोलाए, ‘कुमुद !’ उ रोकिई । ‘हाइ’
‘हाइ.....तिमी ?‘ उसले सोधी
‘म हरिहर ! हरिहर न्यौपाने । फेसबुक....च्याट । म पनि यहि पढ्छु । वि.ए सोसोलोजी ।’  म नर्भस हुदै थिए । क्लिनिकमा काम गर्छु चाँहि भनिन ।
‘ओह...नाइस टु मिट यू । अहिले मेरो क्लास सुरु हुन लाग्यो म जान्छु है ।‘
‘खासमा तिमिलाई भेटेर एक्लै केही भन्नु थ्यो । एकदिन कतै बसेर कुरा गरौ न । इट्स समथिङ पर्सनल ।’ म केही सहज भए ।
‘यु मिन डेट ?’ केही अकमक्काएझै उसले सोधी ।
‘एस !‘ म बोले ।
एक्कासी उसको अनुहारमा परिवर्तन भयो । ‘जिजस‘ उ मलाई खिस्याउदै बोली ‘चिन्नु न जान्नु त्यसै कसरी डेटमा जानु ?’
‘तर हामी फेसबुकमा साथी छौ त । त्यहाँ त सधै कुरा गर्छ्यौ त ?’
‘फेसबुकमा त म कति सँग कुरा गर्छु गर्छु ? आइ ह्याब थाउजेन्डस् अफ पिपल, सबसँग डेट जाँउ ? अलि आफ्नो औकात हेरेर कुरा गर न मिष्टर ।’ उ रिसाउदै अघि बढि,‘कस्ता कस्ता पाखे भेटिन्छन् यार ?’ म आवाज विहिन भए । यो सबै रमिताका मेरा निशुल्क दर्शक पछाडिबाट एकैसाथ चिच्याए, ‘पार्टी केटा .....ओउउउउउ !‘ भोलिपल्ट कोठा पुग्ने बित्तिकै नँया टि–सर्ट ट्याङका थन्काइदिए । अब डेट जानु थिएन ।

मनको घाउ बिस्तारै निको हुने क्रममा थियो । लाग्थ्यो कुनै दिन म उसलाई फेरी भन्नेछु । म फाइनल परिक्षाको लागि अफिसमा बिदा लिएर बसेको थिए । डा. रविको फोन आयो । ‘हरिहर एउटा केस आएको रै‘छ । तिमी क्लिनिक गएर अल्ट्रासाउन्ड गरिदिनु प¥यो ल न ! म यता मिलाएर एक घण्टा जतिमा आउछु ।‘ जानै प¥यो के गर्ने प्राइभेट जागिर ! म दश मिनेटमा मगंलबजार पुगे । ‘के छ रमिता ?’
 ‘दाई एउटी केटी आएकी छ, दुई महिना जति भो भन्छे ! ब्वाइफ्रेन्डले धोका दियो भनेर रुदै थिई । अचेल त के के हुन्छ के के ?’, रमिताले एकै सासमा सिध्याइ । ‘फाइल बनायौ ?’, मैले सोधे । उसले मेरो हातमा थमादिई । सरसर्ती हेरे, नाम ः विष्णुमाया गौतम÷२० वर्ष, गोरखा । ‘लौ एक्स रे रुममा पठाउदै गर । म चेन्ज गरेर आउछु ।’ एप्रोन, मास्क र पञ्जा लाएर म कोठामा छिरे । केटी टाउको निहुराएर बसेकी थिइ । एक्स–रे मेसिनको स्वीच अन गर्दै मैले  भने,‘विष्णुजी बेडमा पल्टिनोस् त !’ झस्किएझै उसले मतिर हेरी । कुमुद अगाडी थिई । अब झस्किने पालो मेरो थियो । मैले विस्तारै मास्क खोले ।

–अमिर सुवेदी

(२०६९ पौष २८ मा नागरिक दैनिक मा प्रकाशित भैसकेको )



No comments:

Post a Comment